नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताएका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताए। उनले भने, ‘हामीले संविधानको पुनरावलोकन गर्नुपर्छ अब, कतिपय कुरालाई सुधार गर्नुपर्छ । हामी अहिले नेकपा एमालेले नेतृत्व गरेको यो दुई वर्षको पहिलो कार्यकाल त्यसपछि हाम्रो पार्टी सभापतिले नेतृत्व गर्ने बाँकी कार्यकालमा संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्ने यि तमाम कुराहरु टुंग्याउन चाहन्छौँ । टुंग्याउँछौँ ।’
उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप बिस्तार आफूहरुले चाहेको बताए। विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन हुने बताए। उनले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए।