काठमाडौँ, २१ चैत – लामो समयदेखि भारतले रोक्का गरेको नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउड लगायतका वस्तुहरूको निर्यात पुनः सहज भएको छ। भारतले ‘बीआईएस’ (भारतीय मानक ब्यूरो) प्रमाणपत्र नवीकरण गरेपछि नेपालका उद्योगीहरूलाई राहत मिलेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको कूटनीतिक पहलपछि भारतले रोकिएको प्रमाणपत्र नवीकरण गरेको हो। मन्त्री भण्डारीले आफ्नो भारत भ्रमणका क्रममा भारतीय वाणिज्य मन्त्री पीयूष गोयलसँग छलफल गर्दै नेपाली वस्तुहरूको निर्यात सहज बनाउने विषयमा विशेष ध्यान दिएका थिए।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा पनि ‘बीआईएस’ प्रमाणपत्र नवीकरण र निर्यात सहजीकरणका विषयमा गम्भीर छलफल भएको थियो। त्यसपछि भारतीय पक्षले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो।
भारतले आफ्नो बजारमा बिक्री हुने सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयर लगायतका सामग्रीमा ‘बीआईएस’ प्रमाणपत्र अनिवार्य गरेको छ। यही नीतिका कारण नेपालका कतिपय उद्योगहरू निर्यात नहुँदा आर्थिक क्षति बेहोर्न बाध्य भएका थिए। पाँच महिनादेखि रोकिएको सिमेन्ट निर्यात र एक महिनादेखि अवरुद्ध प्लाइउड निर्यात अब पुनः सुरु हुने भएको छ।
नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार अहिले १०–१२ वटा उद्योगहरूले बीआईएस प्रमाणपत्र पाइसकेका छन् भने अन्य उद्योगहरू पनि प्रक्रिया पूरा गर्ने क्रममा छन्। उनले भने, “अब निर्यात सहज हुनेछ, उद्योगहरूलाई ठूलो राहत मिलेको छ।”
यसअघि बीआईएस अभावका कारण भारत पठाइएको ३४ ट्रक प्लाइउड सीमामा रोकिएको थियो, जसले उद्योगीहरूलाई चिन्तित बनाएको थियो। अब नवीकरणपछि ती सामानहरू भारतीय बजार प्रवेश गर्ने निश्चित भएको छ।
सिमेन्ट उद्योगहरूले पनि भारततर्फ सहज रूपमा निर्यात गर्न पाउने भएपछि उत्साहित देखिएका छन्। हाल दुई–तीन वटा सिमेन्ट उद्योगहरूले निर्यात गरिरहेका छन् भने अन्य आधा दर्जन सिमेन्ट उद्योगहरू आगामी महिनाभित्र बीआईएस प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा छन्।