+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

महिला आन्दोलनको योगदान अमूल्य, समाजवादी क्रान्तिमा नेतृत्व लिनुपर्ने आवश्यकता: अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डका अनुसार, महिला, जनजाति, दलित, मधेसी, किसान, मजदुर जस्ता समुदायहरूको अधिकार सुनिश्चित गर्न माओवादी पुनः आन्दोलनको तयारीमा रहेको छ।

जनवाच
२ हप्ता अगाडी

बाँके, २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले जनयुद्धमा देखाएको साहस र बलिदान केवल नेपालका लागि मात्र नभई विश्वकै लागि प्रेरणादायी भएको बताएका छन्।

बाँकेमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले क्रान्ति सफल बनाउन महिलाको सहभागिता अनिवार्य रहेको बताए। उनले जनमुक्ति सेनामा झण्डै ४० प्रतिशत महिला सहभागिता रहेको उल्लेख गर्दै महिलाले नेतृत्व गरेका लडाइँहरू सफल हुँदै आएको स्मरण गराए।

प्रचण्डले राजनीतिक परिवर्तनका लागि महिलाहरूले बन्दुक बोकेर मोर्चामा नजाने भए अहिलेको परिवर्तन सम्भव नहुने स्पष्ट पार्दै, अब समाजवादी क्रान्तिमा पनि महिलाहरूको नेतृत्व अपरिहार्य रहेको बताए। उनले ३३ प्रतिशत महिला सहभागिताको संवैधानिक व्यवस्था नेपाली महिलाको संघर्षकै उपलब्धि भएको उल्लेख गरे।

हालको सरकारको गतिविधिप्रति कटाक्ष गर्दै प्रचण्डले विद्युत प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, राष्ट्र बैंक जस्ता संस्थाहरूमा हस्तक्षेप गरी सरकार जनविरोधी कार्यमा संलग्न भएको आरोप लगाए। दलाल र विचौलियाहरूको प्रभावमा परेर माओवादी नेतृत्वको सरकार हटाइएको उनले दाबी गरे।

पार्टीले अब आफ्नै वर्ग र समुदायको बलमा एक्लै निर्वाचन लड्ने सङ्कल्प गरेको प्रचण्डले जानकारी दिए। जनतासँग माओवादी अभियान पुनः सुरु गरिएको उल्लेख गर्दै उनले संगठनलाई पुनः सशक्त बनाउने लक्ष्य रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ