काठमाडौं – नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदैछन्। बैंककमा आयोजना हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका राजा र समकक्षीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण भएकाले कूटनीतिक रूपमा विशेष महत्त्व राख्ने बताइएको छ। प्रधानमन्त्री ओलीले थाइल्याण्डको भ्रमणलाई नेपालको दक्षिण–पूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्ध विस्तारको ‘गेट–वे’ को रूपमा रहेको उल्लेख गरेका छन्।
उक्त भ्रमणका क्रममा नेपाल–थाइल्याण्डबीच पर्यटन र सांस्कृतिक सहकार्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले दुई समझदारीपत्र (MoU) मा हस्ताक्षर हुनेछ। साथै, गैरसरकारी क्षेत्रबीच पनि ६ वटा सम्झौताहरू हुने जनाइएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रतिष्ठित व्यवसायीहरूसँग छलफल गर्दै लगानी प्रवर्द्धनका सम्भावनाबारे प्रस्तुति दिनेछन्। साथै, उनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्दै नेपाली युवाहरूको लागि प्रविधि र आधुनिक शिक्षामा सहकार्यका सम्भावनाहरूबारे चर्चा गर्नेछन्।
प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनलाई आगामी चैत २२ गते सम्बोधन गर्नेछन्। सम्मेलनका दौरान अन्य मुलुकका नेताहरूसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको छ।