काठमाडौं– दाङको घोराही–९ खैरा स्थित सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। आज बिहान करिब २ बजे सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा जुटेर आगो निभाउने प्रयास गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल का अनुसार दाङका सबै दमकल र ट्यांकर परिचालन गरिए पनि आगो नियन्त्रण गर्न गाह्रो भइरहेको छ। थप मद्दतका लागि बाँके र रुपन्देही जिल्लाबाट पनि दमकल मगाइएको छ।
उद्योग नजिकै बस्ती रहेकाले आगो फैलिन सक्ने खतरा रहेकोले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको छ। जनधनको क्षति हुन नदिन सुरक्षा निकायले विशेष ध्यान दिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए।
यस भीषण आगलागीको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। आगो नियन्त्रणमा आएपछि मात्रै क्षतिको विस्तृत विवरण आउन सक्ने प्रशासनले जनाएको छ।