काठमाडौं, ११ चैत – हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभर क्षयरोग दिवस मनाइन्छ। यस अवसरमा क्षयरोग (टीबी) विरुद्धको जनचेतना फैलाउने, रोग निवारणका लागि आवश्यक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा यसका लागि लगानी बढाउने विषयमा विशेष जोड दिइन्छ। यस वर्षको नारा – ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ। यस नाराले क्षयरोग विरुद्धको लडाइँमा दृढ प्रतिबद्धता आवश्यक रहेको संकेत गर्छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा वर्षेनी ६८ हजार नयाँ क्षयरोगी फेला पर्ने अनुमान छ। सन् २०२३ मा मात्र १६ हजार मानिसको मृत्यु यो रोगकै कारण भएको अनुमान गरिएको छ। यो दर प्रति एक लाख जनसङ्ख्यामा ५४ को मृत्यु हुने हिसाबले गणना गरिएको छ। राष्ट्रिय क्षयरोग कार्यक्रमले सन् २०२३ मा ४० हजार ७७६ जनालाई उपचारका लागि दर्ता गराए पनि, ४० प्रतिशत क्षयरोगी अझै पनि उपचार बाहिर छन्। औषधि प्रतिरोधी क्षयरोग पनि चुनौतीको रूपमा देखिएको छ, जसमा ७५६ जना बिरामी फेला परेका थिए। नेपाल सरकारको पञ्चवर्षीय क्षयरोग रणनीतिक योजना (२०२१/२२ – २०२५/२६) अनुसार क्षयरोग नियन्त्रणका लागि कुल १९२ मिलियन अमेरिकी डलर आवश्यक छ। तर हालसम्म मात्र ११० मिलियन डलर उपलब्ध भएको छ, जसले ४३ प्रतिशत बजेट अभाव देखाउँछ। बजेट अभावकै कारण आवश्यक उपकरण तथा औषधिको व्यवस्थापन, रोगीहरूको सक्रिय पहिचान, समुदायमा सचेतना कार्यक्रम तथा स्वास्थ्य संस्थाहरूको सुदृढीकरणमा अपेक्षित सुधार हुन सकेको छैन। नेपाल सरकारले संघीय संरचनालाई ध्यानमा राख्दै १४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल’ अभियान सञ्चालन गरिरहेको छ। हाल देशभर ६,२४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ८०० स्वास्थ्य संस्थामा निदान सेवा निःशुल्क प्रदान गरिँदै आएको छ। नयाँ प्रविधिको प्रयोग गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) जडित डिजिटल एक्स–रे मेसिन को माध्यमबाट समुदायस्तरमा क्षयरोगी पहिचान गर्ने अभियान थालिएको छ। साथै, छोटो अवधिको इन्जेक्सनरहित छ महिने उपचार ‘रेजिमेन’ समेत उपलब्ध गराइएको छ। नेपालले सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म क्षयरोग मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ। तर, यो लक्ष्य पूरा गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य अपरिहार्य देखिन्छ। जनचेतना अभियानलाई अझै प्रभावकारी बनाउने स्वास्थ्य संस्थामा गुणस्तरीय निदान तथा उपचार सेवा विस्तार गर्ने बजेट अभावको समस्या समाधान गर्न दीर्घकालीन रणनीति निर्माण गर्ने नीजि क्षेत्र, शिक्षा, श्रम तथा सामाजिक सुरक्षाको भूमिका बढाउने विशेषगरी, कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू, चुरोट रक्सी वा लागुऔषध सेवन गर्नेहरू, तथा औषधि अपुरो सेवन गर्नेहरूमा पुनः संक्रमणको खतरा उच्च हुन्छ। तीन हप्तासम्म खोकी लागिरहेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन आवश्यक छ।