काठमाडौं, चैत ९, २०८१ – प्रविधिमा आधारित पारदर्शी प्रशासनलाई सुदृढ बनाउन काठमाडौं महानगरपालिका–१५ ले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पाम्स) सञ्चालनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरूलाई दुईदिने विशेष तालिम सम्पन्न गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयले अघि सारेको पाम्स प्रणाली को प्रभावकारी प्रयोगमार्फत माग फाराम भर्ने, शिफारिस गर्ने, खरिद आदेश दिने, दाखिला गर्ने, भुक्तानी प्रक्रिया सहज बनाउने तथा सम्पत्तिको नियमित अभिलेख राख्ने लक्ष्य राखिएको छ। कार्यालयका स्थिर सम्पत्ति (खप्ने र नखप्ने सामग्री), भवन, जमिन तथा अन्य स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन पाम्स प्रणालीले गर्नेछ।
वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार, संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको जिम्मेवारी बढ्दै गएको छ। “सूचना प्रविधिको अधिकतम उपयोग गर्दै, सार्वजनिक सम्पत्तिको पारदर्शी व्यवस्थापन गर्न डिजिटल प्रणालीलाई आत्मसात गर्न आवश्यक छ। यसलाई सहज रूपमा सञ्चालन गर्न जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि अनिवार्य भएकाले तालिमको आयोजना गरिएको हो,” उहाँले बताउनुभयो।
वडामा इ-गभर्नेन्स प्रणाली लागू भएसँगै विद्युतीय खरिद प्रक्रिया, आर्थिक पारदर्शिता तथा वित्तीय जोखिम न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा अघि बढाइँदै छन्। प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार, २ करोडसम्मका योजना वडाबाट स्वीकृत हुन सक्ने र ५ हजार वर्गफिटसम्मका भवन नक्सापास गर्ने अधिकार वडा तहमै निहित भएको जानकारी दिनुभयो।
वडाले गत आर्थिक वर्षमा मात्र १० करोड ५७ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको थियो। प्रमुख स्रोतहरूमा बहाल कर (५.६५ करोड), सम्पत्ति कर (३.१५ करोड), र व्यवसाय कर (१.७५ करोड) परेका छन्। वडाले डिजिटल कर प्रणालीलाई पूर्णरूपमा कार्यान्वयन गर्दै नागरिकलाई सजिलो बनाउने योजनामा रहेको वडा सचिव प्रमोद अधिकारी बताउँछन्।
महानगरका सूचना प्रविधि प्रमुख अनिरुद्र नेपालका अनुसार हाल ३२ वटा डिजिटल प्रणाली सञ्चालनमा छन्। यी प्रणालीहरूले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, नागरिकता, बसाइसराइ प्रमाणपत्रजस्ता सेवा छिटो र सहज रूपमा उपलब्ध गराइरहेका छन्।
महालेखा परीक्षकको कार्यालयका लेखा अधिकृत शंकरप्रसाद न्यौपानेका अनुसार, प्रविधिको प्रभावकारी प्रयोगले सार्वजनिक सेवा प्रवाहलाई तीव्र बनाउन मद्दत पुर्याउनेछ। “प्रणाली थालनी गर्न कठिन भए पनि, एकपटक कार्यान्वयन भएपछि यसले सुशासनमा महत्वपूर्ण योगदान पुर्याउँछ,” उहाँले बताउनुभयो।