काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा काठमाडौंको शंखमुलस्थित अनमोल क्याटरिङ सर्भिसमा सम्पन्न भएको छ । अध्यक्ष तारा कुँवरको अध्यक्षतामा बसेको सभाले आगामी रणनीति, वित्तीय प्रतिवेदन पारित गर्नुका साथै संस्थागत विस्तारलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन तथा नाफा-नोक्सान हिसाब पारित गरेको छ । साथै, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरिएको छ ।
महिला लघुवित्तले अब अन्य “घ” वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियालाई तीव्र बनाउने योजना बनाएको छ । संस्थाले यसको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने निर्णय गर्दै, मर्जर प्रक्रियाका सबै आवश्यक कानुनी तथा प्राविधिक तयारी अघि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ ।
सभामा शेयरधनीहरूले संस्थाको भविष्यबारे जिज्ञासा राख्दा प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले महिला लघुवित्तले शेयरधनीहरूलाई उच्च प्रतिफल दिने लक्ष्य राखेको बताए । उनले संस्थाको विस्तार, सेवा सुदृढीकरण, र व्यावसायिक पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
सभालाई सम्बोधन गर्दै माननीय सांसद जुली कुमारी महतोले संस्थाको प्रगतिको शुभकामना दिँदै महिला सशक्तिकरणका लागि लघुवित्त क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । प्रमुख अतिथि तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्तबीच सहकार्यलाई अझ सशक्त बनाउन सुझाव दिइन् ।