नेपालमा पेट्रोलियम इन्धनको विकल्पका रूपमा विद्युतीय सवारीप्रति आकर्षण बढ्दै गएको छ । सरकारको कर प्रणाली, पूर्वाधार विस्तार, र सवारी साधनको उपलब्धताले निकट भविष्यमा ईभीको बजार झन् तीव्र रूपमा बढ्ने संकेत देखिन्छ ।
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को माग तीव्र गतिमा बढिरहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्र नेपालले विभिन्न देशबाट १७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको १४ हजारभन्दा धेरै ईभी आयात गरिसकेको छ, जसबाट राज्यले १० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
भन्सार विभागका अनुसार चीन नेपालका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ । आठ महिनामा मात्र चीनबाट १३ अर्ब ७० करोड रुपैयाँ बराबरका ११ हजार ५५० ईभी नेपाल भित्रिएका छन् । यसबाट सरकारले ८ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
भारत दोस्रो स्थानमा रहेको छ, जहाँबाट ३ अर्ब ४५ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी नेपाल भित्रिएका छन् । यसबाट सरकारले १ अर्ब ७७ करोड रुपैयाँ कर उठाएको छ ।
अन्य मुलुकहरूको योगदान तुलनात्मक रूपमा कम देखिएको छ । इन्डोनेसियाबाट मात्र १ थान, कोरियाबाट ३ थान, जर्मनीबाट २४ थान, र अमेरिकाबाट ५ थान ईभी आयात भएका छन् ।