काठमाडौं, ६ चैत – “बाँसले जीवन राम्रो बनाउँछ” भन्ने नारासहित ललितपुरको गोदावरी नगरपालिकामा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको छ। परम्परागत रूपमा बाँसको हस्तकला तथा सामग्री निर्माणमा संलग्न पहरी र नगरकोटी समुदायलाई व्यवसायिक स्तरमा रूपान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। गोदावरी नगरपालिका वडा नम्बर ४, बडिखेलमा आयोजित तालिमको उद्घाटन नगरप्रमुख गजेन्द्र महर्जन र नेपालस्थित चिनियाँ दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा गरे। तालिममा नगरपालिकाका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थी सहभागी छन्, जसमा विशेष गरी पहरी र नगरकोटी समुदायका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ। गोदावरी नगरपालिकाका प्रमुख महर्जनले बाँसका सामग्री उत्पादनको व्यवसायिक संभावनालाई सम्बोधन गर्दै भने, “बाँस यहाँका धेरै स्थानीयको आम्दानीको स्रोत हो। यो तालिमले उनीहरूको सीपलाई परिष्कृत गरी व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।” उनले तालिमलाई एउटा ठूलो अवसरका रूपमा लिन आग्रह गर्दै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन आवश्यक रहेको उल्लेख गरे। अन्तर्राष्ट्रिय साझेदारी र प्रविधि हस्तान्तरणतालिम सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सञ्चालन भएको हो। चीनको सिजाङ (तिब्बत)स्थित गुडविल फाउण्डेसन र नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेका छन्। स्थानीय रूपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ यस तालिमका साझेदार संस्था रहेका छन्। गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष मा जेजियानका अनुसार तालिममा बाँसको चोयाबाट लालटिन, हस्तकला सामग्री, र अन्य परम्परागत एवं आधुनिक प्रयोगका वस्तुहरू बनाउन सिकाइनेछ। उनले भने, “बाँस प्लास्टिकको उत्कृष्ट विकल्प हुनसक्छ। हामी बाँसको उपयोग बढाएर हरित विकासलाई प्रवर्द्धन गर्न चाहन्छौं।” बाँस उद्योगको उज्ज्वल सम्भावनागोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष राजन महर्जनले चीनमा बाँस उद्यमको सफलताबाट नेपालले धेरै सिक्न सक्ने बताए। उनले भने, “यो तालिमले नेपाल र चीनबीचको सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउनेछ।” बाँस उद्योगमा चिनियाँ प्रविधि हस्तान्तरण गर्न चीनको सिचुआन प्रान्त, मेइशान सहरका वरिष्ठ कालिगढ लि यिनहाई र सुआई यानपिङ सहभागी भएका छन्। उनीहरूले प्रशिक्षार्थीलाई व्यावसायिक उत्पादनका सीपहरू प्रदान गर्नेछन्। नेपालमा ६३ हजार हेक्टर क्षेत्रफलमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन्। बाँसको व्यवसायिकरण गर्न सरकारी तथा निजी क्षेत्रले विविध प्रयासहरू गरिरहेका छन्। हालै खोटाङको दिक्तेलमा सम्पन्न पहिलो राष्ट्रिय बाँस सम्मेलन पनि यही पहलको एक हिस्सा हो।