काठमाडौं, ५ चैत । काठमाडौं महानगरपालिकाले आफ्नै पहलमा लक्षित वर्गका नागरिकका लागि निःशुल्क उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ। महानगरपालिकाभित्रका ५२ अस्पताललाई समेटेर सुरु गरिएको यो प्रणाली मार्फत एक वर्षभित्र १५५ जना विपन्न तथा वेवारिसे बिरामीको निःशुल्क उपचार गरिएको छ।
महानगरले स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न ‘अस्पतालमा निःशुल्क उपचार गराउने सम्बन्धी कार्यविधि, २०८०’ लागू गर्दै आएको छ। यस प्रणालीले विपन्न नागरिकलाई आकस्मिक सेवा, फेमिली मेडिसिन, आँखा, नाक, कान, क्यान्सर, दम, क्षयरोग, स्त्री तथा प्रसूति सेवा, शल्यक्रिया लगायतका उपचारमा प्राथमिकता दिएको छ। हालसम्म ३७४ शय्या निःशुल्क सेवाका लागि छुट्याइएको छ।
यस अभियानमा सबैभन्दा बढी लाभान्वित हुने फेमिली मेडिसिनका ३५ जना बिरामी रहेका छन् भने २६ जनाले शल्यक्रिया सेवा प्राप्त गरेका छन्। सेवा प्रदान गर्ने अस्पतालमध्ये अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालले २९ जना, काठमाडौं मेडिकल कलेजले १७ जना, काठमाडौं मोडेल अस्पतालले १४ जना र नेपाल आँखा अस्पतालले १२ जनालाई निःशुल्क सेवा प्रदान गरेका छन्।
स्वास्थ्य सेवामा सुधार ल्याउन नीति मात्र पर्याप्त नहुने, यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेको महानगरका शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन बताउँछन्। उनले भने, ‘विपन्न वर्गका नागरिकसँग पहुँच हुँदैन, आत्मविश्वास हुँदैन। कतिसँग त आवश्यक कागजातसमेत नहुने अवस्था छ। त्यसैले उनीहरूलाई थप सहयोग आवश्यक छ।’