काठमाडौं – क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट मंगलबार सम्पन्न भएको छ। बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले औपचारिक कार्यक्रम आयोजना गरी आईपीओको नतिजा सार्वजनिक गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो। तर, आवेदन दिनेको संख्या अत्यधिक भएपछि अधिकांश लगानीकर्ताको हात खाली भएको छ। बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
आईपीओमा कुल १९ लाख ५५ हजार ६८५ जनाले आवेदन दिएका थिए, जसमध्ये १७ लाख ७१ हजार १८५ जना लगानीकर्ताले सेयर हात पार्न सकेनन्। नतिजा हेर्नका लागि आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपी अनलाइन प्रणाली प्रयोग गर्न सकिनेछ।
इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ। आर्थिक सूचकहरू हेर्दा, कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ। कम्पनीको सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ।