काठमाडौं, ९ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणलाई पूर्ण रूपमा सुनिश्चित गर्ने बताउनुभएको छ। उनले अभिव्यक्ति स्वतन्त्रताका नाममा सामाजिक सद्भाव भड्काउने, शान्ति सुरक्षा खल्बल्याउने तथा देशविरोधी गतिविधि गर्न नदिइने स्पष्ट पारे।
ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमाथि लेखिएको ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति स्वतन्त्रताबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे ।
“हिजो टिकटकमा प्रतिबन्ध लगाउनेहरू नै आज अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्। हामीले त प्रतिबन्ध हटाएका हौं। स्वतन्त्रता भनेको जे मन लाग्यो, त्यही बोल्ने होइन,” प्रधानमन्त्री ओलीले भने “व्यक्तिगत अधिकारको दुरुपयोग गरेर समाजलाई विखण्डन गर्न खोज्ने प्रयास स्वीकार्य छैन।”
प्रधानमन्त्री ओलीले आफूविरुद्ध भइरहेको भ्रमपूर्ण प्रचारबारे बोल्दै आफ्नो जीवन खुला र पारदर्शी रहेको बताए । “स्वीट्जरल्यान्डको बैंकमा मैले पैसा राखे भनेर प्रचार गरिँदैछ। मलाई त्यत्रो सम्पत्ति किन चाहियो? मेरो जीवन सामान्य छ, म दुई रोटी र थोरै दाल खान्छु,” उनले कटाक्ष गर्दै भने ।
उनले सुशासनलाई राष्ट्रिय समृद्धिको प्रमुख आधार मान्दै कानुनी सुधार र नीति निर्माणलाई तीव्रता दिइरहेको सरकारको प्राथमिकता स्पष्ट पारे । साथै, नेपाल चेम्बर अफ कमर्सको विकासमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्व श्रेष्ठको योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहने विश्वास व्यक्त गरे ।