काठमाडौं। अब सबै खाले सुर्तीजन्य वस्तुको प्याकेटमा सतप्रतिशत चेतावनीमुलक सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पूरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका हुन्।
यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।
मन्त्री पौडेलले भने, ‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो । चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौँ ।’
यस्ता चेतावनीमूलक सूचनाले सुर्ती तथा चुरोट छाड्नेको सङ्ख्या वृद्धि हुने अध्ययनहरूले देखाएको छ । नेपालमा हरेक वर्ष ३७ हजारको सुर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा छ ।
सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकमेजिंगमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत भए पछि अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा प्रयोगले पार्ने असरसम्बन्धी चेतावनीमूलक चित्र छापिनेछ ।