काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दुर्गा प्रसाईंमाथि लागेको साइबर मुद्दा सम्बन्धी कसुरबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । प्रसाईं मंसिर ४ मा पक्राउ परेका थिए ।
उनीविरुद्ध लागेको विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको आरोपमा अनुसन्धान सकेर केन्द्रीय साइबर ब्यूरोले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो।
योसँगै जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईं विरुद्धको प्रतिवेदनसहित मंगलबार अदालतमा मुद्दा दायर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको हो ।
साइबरसम्बन्धी कसुरको अनुसन्धान सकिएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको घटनामा प्रसाईंको संलग्नता देखिएपछि उनीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिन थालेको छ । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं निकट हरिचन्द्र फुयल पक्राउ परेका छन् । आपराधिक लाभसम्बन्धी कसुरमा प्रसाईंसँग सोमबारदेखि बयान लिन थालिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिएका छन् ।
प्रसाई विरुद्ध प्रहरीले लिखत किर्ते, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधमा पनि अनुसन्धान गरिरहेको छ ।