काठमाडौं । भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण सोमबारनेपालका धेरै स्थानमा हल्का देखि मध्यम हिमपात एवं वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले यो मौसम प्रणालीका कारण तापक्रममा समेत गिरावट आउनसक्ने भन्दै चिसो बढ्नसक्ने सम्भावना औँल्याएको छ।
उक्त प्रणाली सोमबार रातिसम्म नेपालमा सक्रिय रहने भनिएको छ। वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, पर्वतारोहण र हवाई यातायात जस्ता क्षेत्रमा असर पर्न सक्ने देखिएको भन्दै मौसम विभागले आज पर्वतारोहण र हवाई यात्रा गर्दा सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
कहाँ कस्तो असर देखिनेछ ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आएको न्यून चापीय प्रणालीको असरले गर्दा विभिन्न ठाउँमा हिमपात र वर्षा हुने आकलन गरिएको छ।
यस्तो खालको अवस्थालाई वेस्टर्न डिस्टर्बेन्स पनि भनिन्छ। यसपालीको हिउँद यामको पहिलो वेस्टर्न डिस्टर्बेन्स शुरु भएको छ। धेरै ठूलो वर्षा र भारी हिमपातको सम्भावना कम नै छ। तर पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुने देखिएको विभागले जनाएको छ ।
त्यसो त विभागले गत शनिवार बिहान जारी गरेको तीन दिने मौसम बुलेटिनका अनुसार आइतबार राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखी मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बाग्मती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो ।