काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेसँगको बयान सकिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले तीन दिन लगाएर सभापति लामिछानेको बयान पुरा गरेका हुन् ।
तीन दिनमा लामिछानेमाथि ७४ वटा प्रश्न सोधिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्ययी सहकारी संस्थाबाट ऋण लिएको, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।
बयान सकिएसँगै सभापति लामिछानेलाई फेरि पोखरा लगिने भएको छ । कार्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको थियो ।
सभापति लामिछानेले र जीबी राईले स्वर्णलक्ष्मीबाट २०७८ भदौ ४ मा ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकालेका हुन् ।
‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।
त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीको कार्यालयबाट प्रहरीले ३५ थान भौचर बरामद गरेको छ । अनुसन्धान अधिकृतहरूले प्राप्त प्रमाण देखाएर लामिछानेलाई प्रश्न गरेका छन् ।
स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको प्रहरीले जनाएको छ ।