+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

रास्वपाको नाराबाजिकै बीच, संसद कार्यसूची भने यथावत्

जनवाच
७ घण्टा अगाडी

काठमाडौं, ९ असार- मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा पुनः आक्रोश प्रकट गरेका छन्। विरोधका स्वर उच्च भए पनि सभामुख देवराज घिमिरेले संसद बैठकलाई नियमित रुपमा सञ्चालन गरे।

बैठक सुरु भएपछि रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो स्थानबाट उभिएर नाराबाजीमा उत्रिए। सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिएपछि उनले सरकारले मानव तस्करीमा संलग्न व्यक्तिलाई संरक्षण गरेको आरोप लगाउँदै गृहमन्त्री लेखकको राजीनामा नभएसम्म संसदमा विरोध जारी रहने बताए।

उनको भनाइपछि बैठक झनै तनावग्रस्त बन्न पुगेको थियो। रास्वपाका सांसदहरूले संसद वेल घेरेर विरोध जनाएका छन् भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गर्दै सदन छाडेका छन्।

यद्यपि सभामुखले बैठकको कार्यसूची अनुसार कार्यवाही अघि बढाएका छन्। आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत १९ वटा मन्त्रालयका बजेटमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

छलफलमा ऊर्जा, वन, रक्षा, कृषि, स्वास्थ्य, कानुन, पर्यटन, भौतिक पूर्वाधार, उद्योग, शिक्षा, परराष्ट्र लगायतका मन्त्रालयहरूका बजेट समावेश छन्, जसमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

संसदमा बजेट छलफलको संवेदनशील घडीमा विपक्षी दलको आक्रोशले राजनीतिक दबाब झन् चर्किएको छ। तर बैठक यथावत् अगाडि बढाइँदै, संसदीय मर्यादा र विरोधबीचको सन्तुलन कायम राख्ने प्रयास देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ