+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

प्रारम्भिक बालशिक्षामा एकरूपता शिक्षा: काठमाडौं विश्वविद्यालय र नेसनल प्याब्सनबीच सहकार्य

जनवाच
७ घण्टा अगाडी

काठमाडौँ, ९ असार – देशभर बिखण्डित ढंगमा सञ्चालन हुँदै आएका प्रि-स्कुलहरूलाई अब साझा पाठ्यक्रमबाट एकीकृत गरिने भएको छ। काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसन (केयूएसओइडी) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सहकार्यमा तयार गरिएको प्रारम्भिक बालशिक्षा पाठ्यक्रम नेसनल प्याब्सनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले पाठ्यक्रम प्याब्सनकी अध्यक्ष गीता राणा क्षेत्रीलाई हस्तान्तरण गरे। यस सहकार्यले निजी क्षेत्रका प्रि-स्कुलहरूमा शैक्षिक एकरूपता ल्याउने अपेक्षा गरिएको छ।

अध्यक्ष क्षेत्रीले शिक्षालाई बालमैत्री, डिजिटल, र व्यावहारिक बनाउँदै लैजान साझा पाठ्यक्रमले महत्वपूर्ण आधार तय गर्ने बताइन्। पाठ्यक्रमलाई कार्यान्वयन गर्न सिलेबस र पाठ्यपुस्तक निर्माणको काम चाँडै सुरु गरिने उनले जानकारी दिइन्।

डा. लुइँटेलले पाठ्यक्रमलाई केवल किताबी होइन, प्रयोगमा आधारित र सामाजिक उत्तरदायित्व वहन गर्ने किसिमले विकास गरिएको बताए। “शिक्षा केवल अंक केन्द्रित होइन, अब सृजनशील र समावेशी हुनुपर्छ,” भन्दै उनले समाजको जटिल समस्याहरू समाधान गर्ने शिक्षा प्रणालीको खाँचो औंल्याए।

केयूएसओइडी अन्तर्गत प्रारम्भिक बाल शिक्षा विभाग प्रमुख डा. पार्वती ढुङ्गानाले पाठ्यक्रम विकासमा अनुसन्धान, साक्ष्य र विविध सरोकारवालाको समन्वय आवश्यक रहेको धारणा राखिन्। “बाल शिक्षालाई वैज्ञानिक र स्थानीय आवश्यकता अनुसार समायोजन नगर्दा मुलुकको भविष्य अस्थिर रहन्छ,” उनले भनिन्।

नेसनल प्याब्सनका पूर्वअध्यक्ष तथा शिक्षा आयोगका संयोजक कर्णबहादुर शाहीले प्रारम्भिक शिक्षा सशक्त र समसामयिक बनाउन नीति तहदेखि व्यवहारसम्म ध्यान दिनुपर्ने बताए। उनले विद्यालयलाई केवल पढाइको थलो नभई ‘नागरिक निर्माण केन्द्र’को रुपमा हेर्नुपर्नेमा जोड दिए।

साथै, नेसनल प्याब्सनको केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक असार ५ देखि ८ गतेसम्म सम्पन्न भएको छ। बैठकमा सदस्यहरूलाई नेतृत्व विकाससम्बन्धी विशेष तालिम दिइएको थियो। सहभागीहरूले तालिमबाट व्यवहारिक दृष्टिकोण र प्रेरणा पाएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ