९ असार, काठमाडौं – आइतबार बेलुकीको भीषण वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रअन्तर्गतको सडक यातायात पूर्ण अवरुद्ध भएको छ। गौशालादेखि कोटेश्वरतर्फ जाँदै गरेको मोटरसाइकल एक ढलेको रुखमा च्यापिएको छ भने मोटरसाइकल चालकको पहिचान अझै खुलेको छैन। बेलुकी साढे १० बजेतिर परेको भारी वर्षासँगै सडक छेउको रुख ढल्दा विद्युत् प्रसारण लाइन चुडिएको छ र त्यसले विमानस्थल क्षेत्रमा अन्धकार र जामको अवस्था सिर्जना गरेको छ। घटनास्थलमा तत्कालै पुगेको सशस्त्र प्रहरी बलको उद्दार टोलीले रुख हटाउने प्रयास गरिरहेको छ भने केही क्षणमै सडक खुलाउने तयारी भइरहेको छ। स्थानीयवासीका अनुसार यस क्षेत्रमा वर्षासँगै हावाहुरी चल्ने क्रम बढेको छ र यसले धेरै रुखहरू कमजोर बनाइदिएको थियो। मौसम विभागले पनि मनसुन सक्रिय भएकाले आगामी दिनमा थप सतर्कता अपनाउन आग्रह गरेको छ।