काठमाडौं- कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्रमा आशा पलाएको छ । लामो समय थला परेको पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्न थालेको छ । सन् २०२४ मा ११ लाख ४७ हजार विदेशी पर्यटक नेपाल आएका छन् जुन संख्या सन् २०२० को तुलनामा झन्डै पाँचगुणा बढी हो । संख्यात्मक वृद्धि उत्साहजनक देखिए पनि पर्यटकको बसाइ अवधि र खर्च घट्दै गएको तथ्यले नेपालको पर्यटन क्षेत्रले आम्दानी बढाउने लक्ष्य प्राप्त गर्न सकेको छैन ।
नेपाल सरकारको आर्थिक सर्वेक्षण २०८१/०८२ का अनुसार सन् २०२० मा नेपाल आउने पर्यटकको प्रतिदिनको औसत खर्च ६५ अमेरिकी डलर थियो । पाँच वर्षपछि सन् २०२४ मा त्यो रकम घटेर ४०.८ अमेरिकी डलरमा सीमित भएको छ । दैनिक खर्चमा आएको यो ३७ प्रतिशतको गिरावट गम्भीर संकेत हो । यस्तै बसाइ अवधिमा पनि सुधार आउन सकेको छैन । सन् २०२० मा एक पर्यटक औसतमा १५.१ दिन नेपाल बस्थे भने २०२४ मा त्यो घटेर १३.३ दिनमा झरेको छ ।
पर्यटकको बसाइ अवधि र खर्च घटिरहँदा सरकारले भने अझै महत्त्वाकांक्षी लक्ष्य तय गर्दै आएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको सोह्रौँ योजना (२०८१/०८२–०८५/०८६) अनुसार आगामी तीन वर्षभित्र वार्षिक पर्यटक संख्या २५ लाख पुर्याउने प्रतिपर्यटक बसाइ अवधि १५ दिन बनाउने र उनीहरूको प्रतिदिनको खर्च ८५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ । यस्तै पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशत योगदान पुर्याउने आकांक्षा पनि राखिएको छ ।
तर यथार्थमा ती लक्ष्य र योजनाहरू कार्यान्वयनमा देखिएको कमजोरीले गन्तव्य प्रवर्द्धन, सेवा सुधार र पर्यटकलाई आकर्षित गर्ने उपायमा कमजोरी भएको प्रमाणित गर्छ । पर्यटन विश्लेषकहरूको बुझाइमा पर्यटन क्षेत्रबाट आर्थिक प्रतिफल कम हुनुको मुख्य कारण पूर्वाधारको अभाव, कमजोर व्यवस्थापन, र पर्यटकमैत्री वातावरण निर्माणमा सरकार र निजी क्षेत्रको समन्वयको कमी हो ।
अहिले विश्वका धेरै देशहरूले पर्यटक संख्या मात्र बढाउने होइन उनीहरूलाई धेरै समयसम्म देशभित्रै राख्न सकिने रणनीतिमा लगानी गरिरहेका छन् । यस्ता परियोजनामा चीन, भारत, संयुक्त अरब इमिरेट्स, फ्रान्स, स्विट्जरल्यान्डलगायत देशले खर्बौँ डलरको पूर्वाधार निर्माण गरेका छन् । तर ती पूर्वाधारहरू बारम्बार बनाउनुपर्दैन । एकपटक बनाइएका संरचनाबाटै तिनीहरूले दशकौँसम्म आय आर्जन गरिरहेका छन् । उदाहरणका लागि चीनको ग्रेटवाल, भारतको ताजमहल, फ्रान्सको आइफेल टावर वा दुबईको बर्ज खलिफा यस्ता पर्यटकीय चुम्बक हुन् जसले करोडौँ पर्यटक तान्न सफल भएका छन् ।

नेपालमा पनि यस्ता ऐतिहासिक, धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाहरू छन् । हिमाल, पहाड, तराई तीनै भूगोलले भरिएको नेपालजस्तो विविधतायुक्त मुलुक विश्वमै दुर्लभ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यतै छ । लुम्बिनीजस्तो धार्मिक आस्थाको केन्द्र नेपालमै छ काठमाडौँ उपत्यकामा सयौँ वर्ष पुराना दरबार, मठमन्दिर, जात्रा र संस्कृति जीवित छन् । तर यी सम्पदा र प्राकृतिक विविधतालाई प्रभावकारी ढंगले पर्यटक गन्तव्यमा रूपान्तरण गर्न सकिएको छैन ।
सगरमाथाको मात्रै कुरा गर्ने हो भने आर्जन गर्ने आय नगण्य छ । पदयात्रा क्षेत्रका रुटहरू साहसिक पर्यटकका लागि पर्वतारोहण, जंगल सफारी, बर्ड वाचिङ, हेली टुरिजम, ग्रामीण जीवनशैली अनुभवजस्ता कार्यक्रम व्यवस्थित गर्न सकिएको छैन । पर्यटकको रुचिलाई सम्बोधन गर्ने गरी पूर्वाधार निर्माण र सेवा प्रवाह हुन नसक्दा उनीहरूको बसाइ छोटो हुन पुगेको छ ।
काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुर र पाटनका दरबार स्क्वायर, बौद्धनाथ, स्वयम्भू, जनकपुर, मुक्तिनाथ र लुम्बिनीजस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रचारप्रसार र व्यवस्थापन कमजोर हुँदा ती स्थलहरू हेरेपछि फर्कने मात्र गन्तव्य बन्न पुगेका छन् । लुम्बिनीमा त विदेशी पर्यटक औसतमा दुई घण्टामात्र समय बिताएर फर्किन्छन् किनकि थप गतिविधि, पर्यटनपछिको अनुभव, आधुनिक सेवा सुविधा र स्थानीय अनुभवको संयोजन छैन ।
नेपालमा आउने अधिकांश पर्यटक स्वतन्त्र वा बजेट ट्राभलर समूहका हुन्छन् । उनीहरू खर्च गर्नुभन्दा बढी अनुभव लिन चाहन्छन् । यस्तोमा उनीहरूलाई आकर्षक गतिविधि, सस्तो तर गुणस्तरीय सेवा र सुरक्षित वातावरण आवश्यक पर्छ । नेपालमा ती सबै पक्षमा सुधार नहुँदा पर्यटक आउँछ तर लामो समय बस्दैनन् र उनिहरु ठुलो खर्च पनि गर्दैनन् ।
विदेशी ट्राभल एजेन्सी र टुर अपरेटरको प्रभुत्वले पनि नेपाली अर्थतन्त्रलाई लाभ पुर्याउन सकेको छैन । पर्यटकको खर्च विदेशी कम्पनीमै सीमित हुन्छ भने नेपालमा तिर्ने शुल्क, भाडा र अन्य सेवा शुल्क न्यून हुन्छ । परिणामतः संख्यात्मक वृद्धि भए पनि आर्थिक प्रतिफल औसतभन्दा कम रहन्छ ।
नेपालका व्यवसायीहरू, लगानीकर्ता र पर्यटन क्षेत्रसँग आबद्ध संघसंस्थाले विगतमा उल्लेख्य लगानी गरिसकेका छन् । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, लुक्ला, नाम्चे, घान्द्रुक, मुक्तिनाथ लगायत स्थानमा थुप्रै होटल, होमस्टे र रिसोर्ट निर्माण भइसकेका छन् । तिनीहरू सञ्चालनमा पूर्ण क्षमतामा जान सकेका छैनन् । कारण एउटै हो पर्यटक आउँछन् हेरेर जान्छन् रोकिँदैनन् ।

यो समस्या समाधान गर्न नीति निर्माण, बजेट विनियोजन र कार्यान्वयनबीचको खाडल हटाउनुपर्ने देखिन्छ । सरकारी योजना कागजमै सीमित छन् भने कार्यान्वयन तहमा राजनीतिक इच्छाशक्ति दक्ष जनशक्ति र प्राविधिक क्षमता अभाव छ । स्थानीय तहमा पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको रकम प्रचारप्रसार, बोर्ड र ब्यानरमा खर्च हुने प्रवृत्ति बढेको छ । अनुसन्धान, गन्तव्य पहिचान, गाइड तालिम, पूर्वाधार सुधार र अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न लगानी केन्द्रित गर्न सकिएको छैन ।
यसैगरी पर्यटनसँग सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धिमा ध्यान जानुपर्ने देखिन्छ । ट्रेकिङ गाइड, पर्वतारोही गाइड, होटल व्यवस्थापन र सुरक्षाकर्मीको तालिम आवश्यक छ । साथै स्वास्थ्य सेवा, सडक पहुँच, हवाई सुरक्षाजस्ता पक्षमा समेत समन्वय गर्नुपर्ने आवश्यकता छ ।
अर्कोतर्फ डिजिटल प्रविधिको प्रयोगमा पनि नेपाल पछि परेको छ । विश्वका प्रमुख पर्यटन मुलुकहरूले प्रविधिलाई रणनीतिक रूपमा प्रयोग गरेका छन् । नेपालले पनि डिजिटल मार्केटिङ, अनलाइन बुकिङ सिस्टम, मोबाइल एप्स, डिजिटल गाइड तथा आर्टिफिसियल इन्टेलिजेन्समार्फत पर्यटकलाई सहज बनाउने उपायमा लगानी गर्नुपर्ने देखिन्छ ।
पर्यटन क्षेत्रलाई आर्थिक विकासको मुख्य इन्जिन बनाउन चाहने हो भने केवल पर्यटक संख्या बढाउने सोचले मात्र सम्भव छैन । पर्यटकलाई विविध अनुभव दिने, गुणस्तरीय सेवा दिने, सुरक्षित वातावरण सिर्जना गर्ने र सांस्कृतिक आदानप्रदानका अवसर दिने रणनीति आवश्यक छ ।
सरकारले बनाएका महत्त्वाकांक्षी लक्ष्यहरू वास्तविकतासँग मेल खाने गरी पुनरावलोकन हुनुपर्छ । सस्तो र छोटो बसाइ हुने पर्यटक मात्र ल्याएर देशको आम्दानी वृद्धि सम्भव छैन । त्यसको लागि दीर्घकालीन संरचना निर्माण, ऐतिहासिक सम्पदाको संरक्षण, प्राकृतिक सौन्दर्यको व्यवस्थापन र रणनीतिक बजारिकरणको संयोजन आवश्यक छ ।
नेपालसँग पर्यटनमा विश्वमा अग्रस्थानमा उभिने सबै आधारभूत सम्भावना छन् । सम्भावनालाई परिणाममा बदल्न रणनीति, प्रतिबद्धता, लगानी र कार्यान्वयनको संगालो चाहिन्छ । नत्र भने संख्यामा मात्र रमाउने अर्थतन्त्रमा केही नथपिने पर्यटन प्रणालीले भविष्यमा संकट झन् गहिर्याउनेछ ।