+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

उत्पादन बढाएर निर्यात प्रवर्द्धनमा निजी क्षेत्रको नेतृत्व आवश्यक : मन्त्री भण्डारी

जनवाच
४ घण्टा अगाडी

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकारले निजी क्षेत्रका जायज माग सम्बोधन गर्न नीतिगत सुधारका उपायहरू अघि बढाइरहेको बताए।

उनले नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीमा पुनर्जीवित गर्ने तयारी भइरहेको जानकारी दिँदै साउन १५ भित्र सम्बन्धित कार्य अगाडि बढाइने स्पष्ट पारे। उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसअनुसार सार्वजनिक–निजी साझेदारीको मोडल लागू गरिने उनको भनाइ थियो।

“देशमा लगानी गर्ने इच्छाशक्ति भए पनि संरचना र प्रक्रिया सहज छैन,” भन्दै उनले आउँदो बजेटमा आईटी, पर्यटन, र औद्योगिक क्षेत्रमा विशेष जोड दिइने उल्लेख गरे।

मन्त्रि भण्डारीले मेला जस्ता प्रयासहरूले नेपाली वस्तुको ब्रान्डिङ, गुणस्तरको पहिचान, र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, स्वदेशी उपभोग कार्यविधिको कार्यान्वयनले बजारीकरणको समस्या समाधानमा टेवा पुग्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मेला अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार र लगानी आकर्षणको माध्यम बन्ने अपेक्षा व्यक्त गरे।

महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको यो मेला वैशाख २९ सम्म चल्नेछ। चीन, बंगलादेश लगायतका १२० भन्दा बढी स्टल सहभागी मेला अवलोकनका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक शरद विक्रम राणाले “नेपाली वस्तुको गुणस्तर त मजबुत छ, अब निर्यात क्षमतामा ध्यान दिन जरुरी छ” भन्दै दीर्घकालीन निर्यात रणनीतिमा जोड दिए।

मेलामा थाइल्याण्ड, इजरायल, युएईका राजदूत, अमेरिका, रूस, पाकिस्तान र बंगलादेशका आर्थिक प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ