काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न थाइल्याण्ड भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागितालाई लिएर सरकार कूटनीतिक तयारीमा जुटेको छ। यसैक्रममा, प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग विस्तृत परामर्श गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा नेपालको आर्थिक विकास, पूर्वाधार कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक सहकार्यलाई प्राथमिकतामा राखी भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा केन्द्रित गर्ने सुझाव दिइएको छ। नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण भएकाले यसको उपयोगिता बढाउने विषयमा विशेष जोड दिइएको छ। छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई क्षेत्रीय सहकार्यको केन्द्र बनाउने र विश्वशान्तिका लागि नेपालको अडानलाई मजबुत बनाउनुपर्ने धारणा राखे। उनले सार्क र असंलग्न आन्दोलनलाई पुनः सक्रिय बनाउने आवश्यकता औंल्याउँदै बिमस्टेक सम्मेलनमा नेपालले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री ओली यही चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण गर्दैछन्। भ्रमण थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको हो। छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्रीहरू उपेन्द्र यादव, ईश्वर पोखरेल, आरजु राणा देउवा, रघुवीर महासेठ, प्रकाशशरण महत, डा. विमला राई पौड्याललगायत उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरू सहभागी थिए।