दक्षिण एसियाका विभिन्न २५ भन्दा बढी किसान संगठनका प्रतिनिधि सहभागी सम्मेलनमा कृषि क्षेत्रमा देखिएका साझा समस्याहरू र तिनको समाधानका उपायहरूबारे व्यापक छलफल हुने जनाइएको छ ।
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्तो कृषिप्रधान देश खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्नु दुःखद भएको बताउँदै अब परम्परागत खेती प्रणाली परित्याग गरी आधुनिक कृषितर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालका ६० प्रतिशत जनता कृषिमा संलग्न रहे पनि उत्पादनमा वृद्धि हुन नसक्दा खाद्यान्न आयातको निर्भरता बढेको बताए । उनले कृषिलाई आधुनिक, प्रविधिमैत्री र व्यवसायिक बनाउने हो भने मात्रै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले युवाशक्ति विदेश पलायन हुने अवस्थालाई रोक्दै, साना उद्योग र आधुनिक कृषि संयोजन गरेर स्वरोजगारको अवसर सिर्जना गर्नुपर्ने बताए । कृषि क्षेत्रमा नवप्रवर्तन, प्रविधिको अधिकतम उपयोग, लगानी विस्तार र किसानलाई सहुलियत कार्यक्रममार्फत सशक्त बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।