+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

लोडसेडिङले उत्पादन र लगानीमा गम्भीर संकट, विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको अपिल

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपालका उद्योगहरू पछिल्ला केही महिनादेखि अनियमित विद्युत् आपूर्तिको समस्याले जुझिरहेका छन् । नेपाल उद्योग परिसंघले उद्योगहरूमा भइरहेको लोडसेडिङलाई गम्भीर विषय भन्दै सरकारलाई तत्काल समाधान गर्न अपिल गरेको छ ।

परिसंघका अनुसार दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदा उत्पादन लागत वृद्धि हुनुका साथै उद्योगहरूको सञ्चालन प्रभावित भएको छ । उद्योगहरूका लागि विद्युत् नै प्रमुख ऊर्जा स्रोत भएकाले अनियमित आपूर्तिले उत्पादनमा गम्भीर असर पार्ने र मुलुकको औद्योगिक वृद्धिलाई ठप्प पार्ने परिसंघको चेतावनी छ ।

उद्योगीहरू भन्छन्— सरकार स्वदेशी उद्योग प्रवर्द्धन गर्ने र लगानी आकर्षित गर्ने नीतिमा रहेको बेला विद्युत् प्राधिकरणको लोडसेडिङले उद्योगहरूलाई ठूलो धक्का दिएको छ । यस्तो अवस्थाले लगानीकर्तामा अन्योल बढाउनुका साथै नयाँ उद्योग खोल्ने वातावरणलाई समेत चुनौती दिएको छ ।

केही समयअघि पनि प्राधिकरणले उद्योगहरूलाई लोडसेडिङ गर्दै विद्युत् निर्यात गरेको थियो । अहिले पुनः उही समस्या दोहोरिएको छ, जसले दीर्घकालीन रूपमा औद्योगिक क्षेत्रलाई असहज बनाउने परिसंघको दाबी छ ।

परिसंघले उद्योगहरूको दिगो विकासका लागि आवश्यक पूर्वाधार तथा ऊर्जा आपूर्तिको सुनिश्चितता गर्न सरकारलाई आग्रह गर्दै उद्योग सञ्चालनका लागि निरन्तर र भरपर्दो विद्युत् आपूर्ति आवश्यक रहेको बताएको छ । अन्यथा, उत्पादन लागत वृद्धिले प्रतिस्पर्धात्मक बजारमा उद्योगहरू कमजोर बन्ने र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने स्पष्ट चेतावनी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ