काठमाडौं – रङ्गहरू केवल सौन्दर्यका लागि मात्र प्रयोग गरिँदैनन्, तिनको मानव जीवनमा गहिरो मनोवैज्ञानिक र आध्यात्मिक प्रभाव रहन्छ। धार्मिक ग्रन्थ तथा वैज्ञानिक अध्ययनहरूले रङ्गहरूको विशेषता र तिनको प्रभावबारे उल्लेख गरेका छन्।
१. सेतो रङ्ग सेतो रङ्गलाई सात्विक स्वरूपका रूपमा लिइन्छ। सत्व भनेको शान्ति, निर्मलता, पवित्रता, आयु र आरोग्यको प्रतीक हो। चन्द्रमा र शुक्र ग्रहलाई सत्व स्वरूप मानिन्छ। सेतो रङ्गले अन्य रङहरूलाई निषेध गर्ने र तिनलाई प्रतिस्थापन गर्ने क्षमता राख्छ।
२. रातो रङ्ग रातो रङ्ग प्रेम र उत्साहको प्रतीक मानिन्छ। वैदिक परम्परामा यसलाई रजोगुणयुक्त रङ्गका रूपमा लिइन्छ, जसले शक्ति, उर्जा र सक्रियता दर्शाउँछ। सूर्य र मंगल ग्रहको राशिगत रङ्ग रातो हुने भएकाले यो दृढ संकल्प र साहसको सूचक पनि हो। तर, केही परम्परामा रातो रङ्गलाई क्रोध र युद्धको प्रतीकका रूपमा पनि लिइन्छ।
३. कालो रङ्ग कालो रङ्गलाई तमोगुण अर्थात् अज्ञान र अन्धकारको प्रतीक मानिन्छ। यसलाई नकारात्मक उर्जाको सूचक मान्ने चलन छ। कालो रङ्ग तापक्रम र उज्यालोलाई शोषण गर्छ। वैदिक ज्योतिषमा शनि, राहु र केतु ग्रहहरूको प्रभाव कालो रङ्गमा परेका हुन्छन्, जसले अनुशासन, रहस्य र कठोरता जनाउँछ।
४. पहेँलो रङ्ग पहेँलो रङ्गलाई ज्ञान, बुद्धि, सात्विकता र समृद्धिको प्रतीक मानिन्छ। यो सकारात्मक उर्जाको वाहक हो। बृहस्पति ग्रहको रङ्ग पहेँलो भएकाले यसलाई विद्या, आस्था र धार्मिकतासँग जोडिएको मानिन्छ। धनु र मीन राशिमा पहेँलो रङ्गको विशेष प्रभाव पर्छ। बुध ग्रह पनि पहेँलो नै मानिन्छ, जसले मानसिक स्पष्टता र विवेकलाई प्रेरित गर्छ।
५. नीलो रङ्ग नीलो रङ्ग गाम्भीर्य, विशालता र शान्तिको प्रतीक हो। वैज्ञानिक रूपमा, यो आँखालाई शीतलता प्रदान गर्ने र ध्यान केन्द्रित गर्ने गुण राख्छ। धार्मिक रूपमा, केतु र राहु ग्रहहरूसँग नीलो रङ्गको विशेष सम्बन्ध रहेको छ। आकाश र समुद्रको रङ्ग नीलो हुने भएकाले यसलाई अनन्त र सम्भावनाको प्रतिविम्ब मानिन्छ।
६. हरियो रङ्ग हरियो रङ्गलाई शान्तिदायक, सहनशील र प्राकृतिकताको प्रतीक मानिन्छ। यसले मनलाई आनन्दित पार्छ र समन्वयको भावना पैदा गर्छ। ज्योतिषशास्त्रअनुसार, बुध ग्रहको प्रभाव हरियो रङ्गमा हुन्छ। राशिगत रूपमा कन्या र मिथुन राशिमा हरियो रङ्गको विशेष प्रभाव रहने मान्यता छ।