काठमाडौं, फागुन २९ – होली पर्व उल्लासपूर्ण वातावरणमा मनाउन थालिएसँगै काठमाडौं उपत्यकामा ट्राफिक र नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै २,७०० भन्दा बढी प्रहरी खटाइएको छ भने ९० भन्दा बढी स्थानमा चेकिङ पोस्ट राखिएको छ।
होली मनाउन विभिन्न स्थानबाट आउने-जाने सवारी साधनमा ट्राफिक प्रहरीले विशेष चेकजाँच गरिरहेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, नियम उल्लंघन गर्ने, उच्छृंखल गतिविधि गर्नेहरूलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस वर्ष प्रहरीले सीसीटीभी र ड्रोनको सहायताले विभिन्न सार्वजनिक स्थलहरूमा निगरानी बढाएको छ। विशेषगरी थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा सुरक्षा सतर्कता अपनाइएको छ।
नेपाल प्रहरीले अनुशासित रूपमा होली मनाउन अनुरोध गर्दै छतबाट लोला नहान्न, भीडभाडमा उच्छृंखल क्रियाकलाप नगर्न आग्रह गरेको छ। प्रहरीले उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।