काठमाडौँ। होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय सिरहाले आम नागरिकलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेको छ। तराई-मधेशमा चैत १ गते विशेष रूपमा मनाइने होलीका क्रममा हुने विकृति तथा असभ्य गतिविधि रोक्न प्रहरीले विशेष सतर्कता अपनाएको छ।
प्रहरीले होली खेल्दा साथीभाइ तथा आफन्तहरूसँग मात्र सीमित रहन, जबरजस्ती रंग नलगाउन, पैदल यात्रुहरूलाई दुःख नदिन, मादक पदार्थ तथा लागूऔषध सेवन नगर्न अनुरोध गरेको छ।
सार्वजनिक स्थानमा अनावश्यक रूपले ठूलो आवाजमा डीजे बजाउन नपाइने, ट्राफिक नियमको पालना गर्नुपर्ने, हेल्मेट अनिवार्य प्रयोग गर्नुपर्ने र महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूप्रति कुनै पनि दुर्व्यवहार नगर्न विशेष सचेत गराइएको छ।
होलीको बहानामा हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले कडा निगरानी गर्ने जनाएको छ। उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने बताइएको छ। शान्ति सुरक्षा कायम राख्न प्रहरीले आम नागरिकलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेको छ।