काठमाडौं, फागुन २७ – विशाल बजार कम्पनीको वार्षिक साधारण सभा हाललाई रोकिएको छ। उच्च अदालत पाटनले सेयरधनी सुनिलकुमार शाक्यको रिट निवेदनमाथि सुनुवाइ गर्दै कम्पनीको फागुन २९ गते हुने भनिएको साधारण सभालाई रोक्न अन्तरिम आदेश जारी गरेको हो।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषिराज भण्डारीको इजलासले सेयरधनीको हित विपरीत सभा गर्न नपाइने ठहर गर्दै कम्पनी ऐन २०६३ को दफा १३९ (४) अनुरूप अन्तिम फैसला नभएसम्म सभा नगर्न आदेश दिएको हो।
अदालतले विशाल बजार कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। अदालतको आदेशसँगै कम्पनीले माघ २९ गते गोरखापत्रमा प्रकाशित सूचना कार्यान्वयन गर्न पाउने छैन।