काठमाडौँ । नेपाललाई पुनः हिन्दु अधिराज्य र राजसंस्थासहितको राष्ट्र बनाउने लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकव्यापी अभियान तीव्र बनाएको छ। यही अभियान अन्तर्गत नेपालगंजमा सोमबार आयोजित बृहत मोटरसाइकल र्यालीले राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न गराएको छ।
र्यालीलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणा ले वर्तमान व्यवस्था असफल भएको दाबी गरे। उनले भने, “विदेशी शक्तिको प्रभावमा नेपाललाई धर्म निरपेक्ष बनाइएको छ, तर अब हामी आफ्नो पहिचान पुनःस्थापित गरेरै छाड्छौं। राजा सहितको प्रजातन्त्र नै हाम्रो गन्तव्य हो।”
कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ले देशको राजनीतिक अस्थिरता, भ्रष्टाचार र शासन व्यवस्थाको असफलता औंल्याउँदै भने, “व्यक्ति विशेष वा पार्टी विशेषको स्वार्थका लागि होइन, राष्ट्रको अस्तित्व बचाउन राजसंस्था अपरिहार्य भइसकेको छ।”
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही ले पछिल्लो समय मुलुक आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेको उल्लेख गर्दै भने, “छिमेकी राष्ट्रहरु विकासमा अघि बढिरहेका छन्, तर नेपालका युवाहरु विदेशीने बाध्य भएका छन्। यो अवस्थालाई परिवर्तन गर्न हामीले व्यवस्थाको पुनरावलोकन गर्नैपर्छ।”
राप्रपाले फागुन महिनाभर सातै प्रदेशमा यस्ता र्याली तथा सार्वजनिक सभा सञ्चालन गर्ने र चैत महिनामा काठमाडौं केन्द्रित प्रदर्शन गर्ने जनाएको छ। पार्टीका नेताहरुका अनुसार यो अभियान राजसंस्थाको पुनःस्थापनासँगै भ्रष्टाचार, अस्थिरता र सामाजिक अन्यायविरुद्ध एक सशक्त आन्दोलनको सुरुआत हुनेछ।