काठमाडौं । नेकपा एमालेले जनसंगठनहरूमा स्थायी कमिटी हटाउने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठक ले संगठनलाई सरल र प्रभावकारी बनाउन केन्द्रीय कमिटी र सचिवालय मात्र रहने व्यवस्था लागू गर्ने निर्णय गरेको हो। बैठकपछि महासचिव शंकर पोखरेल ले जनसंगठनको संरचना संक्षिप्त बनाउने निर्णयबारे जानकारी दिँदै भने, “अब जनसंगठनमा केन्द्रीय कमिटी र सचिवालय मात्र रहनेछन्। स्थायी कमिटीको व्यवस्था हटाइने छ।” एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० सदस्यीय बनाउने र पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको छ। यसले संगठनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। सचिवालय बैठकले पार्टी नेताहरू विदेश भ्रमणमा जानुअघि अनुमति लिनुपर्ने र फर्किएपछि रिपोर्ट पेश गर्नुपर्ने नियम लागू गर्ने निर्णय पनि गरेको छ। एमालेले संगठनात्मक सुधार र अनुशासनलाई प्राथमिकता दिँदै नयाँ नियमहरू कार्यान्वयन गर्ने संकेत गरेको छ।