काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकामा पक्राउ परेका छन्। उनी केही दिनअघि पेन्सिल्भेनिया विमानस्थलबाट पक्राउ परेको बताइएपछि हाल फिलाडेल्फियाको हिरासत केन्द्रमा राखिएको छ। थापा पक्राउ परेको विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा ले प्रतिक्रिया दिँदै थापाले यसअघि नै केही व्यक्तिगत कानुनी प्रक्रिया समाधान गर्नुपर्ने भन्दै आफ्नो जिम्मेवारीबाट अलग रहने निवेदन दिएको स्पष्ट पारेका छन्। थापा रास्वपा अध्यक्ष रवि लामिछानेका निकट नेता मानिन्छन्। तर, उनलाई कुन कारणले पक्राउ गरिएको हो भन्ने विषय खुलाइएको छैन। यद्यपि, थापा यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका थिए। केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोगको आरोपमा पक्राउ परेर जेल बस्नुपरेको थियो, जसका कारण उनको अमेरिकी नागरिकता समेत खारेज गरिएको थियो। यसबाहेक, उनले केही समयअघि राष्ट्रसंघ महासभामा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्यूयोर्क भ्रमणमा जाँदा विरोधस्वरूप कालो झण्डा र जुत्ताको माला देखाउने धम्की फेसबुकमार्फत दिएका थिए। रास्वपाले हाल उनलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पार्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्ने बताएको छ। थापाको पक्राउबारे विस्तृत विवरण भने आउन बाँकी छ।