काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँमा नेतृत्व हस्तान्तरणको नयाँ चरण सुरु भएको छ। अधिवेशनमार्फत निर्वाचित २९५ पदाधिकारी तथा सदस्यहरूले एकैसाथ शपथ ग्रहण गरेका छन्, जसले पार्टीको स्थानीय संरचनालाई थप बलियो बनाउने विश्वास गरिएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति थियो। शपथ ग्रहण गराउँदै जिल्ला सभापति तथा निर्वाचन आयुक्त प्रदीप बिष्टले नयाँ नेतृत्वलाई जिम्मेवारीसहित अगाडि बढ्न आग्रह गरे।
रास्वपाका अनुसार काठमाडौँ जिल्लाका कुल १३८ वडामध्ये हालसम्म ८१ वडामा अधिवेशन सम्पन्न भइसकेको छ। पार्टीले बाँकी वडाहरूमा पनि छिट्टै अधिवेशन गर्ने तयारी गरिरहेको छ।
यस शपथ ग्रहणलाई रास्वपाले संगठन सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भनेको छ। नयाँ नेतृत्वसहित रास्वपाले स्थानीय तहमा आफ्नो पकड अझै मजबुत बनाउने लक्ष्य लिएको छ।