काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिको सदुपयोग गर्दै समाजलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु आवश्यक रहेको बताएका छन्। डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकासले समाजलाई सहज बनाए पनि यसको दुरुपयोग गम्भीर चुनौतीका रूपमा देखा परेको बताए।
प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत हुने अपराध नियन्त्रणका लागि कानुनी व्यवस्था कडा पारिने उल्लेख गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए। “डिजिटल अपराध स्थानीय सीमाभन्दा बाहिर जाने भएकाले कुनै मुलुकको एकल प्रयासले मात्र नियन्त्रण सम्भव छैन। यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ,” उनले भने।
प्रधानमन्त्री ओलीले सामाजिक मर्यादा भत्काउने, घृणाको राजनीति फैलाउने र परिवारभित्रै अविश्वास सिर्जना गर्ने प्रवृत्तिलाई रोक्न सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे। उनले लोकतन्त्रको सही अभ्यास गर्न सुशासन, पारदर्शिता र डिजिटल प्रविधिको संयमित प्रयोग आवश्यक रहेकोमा जोड दिए।
प्रधानमन्त्री ओलीले एआई (कृत्रिम बुद्धिमत्ता) र डिजिटल प्रविधिको सदुपयोग गरी अपराध हुनै नदिने वातावरण बनाउनुपर्नेमा जोड दिए। “प्रविधिको दुरुपयोगले अपराध बढेको छ, तर प्रविधि नै अपराध रोक्न मुख्य साधन बन्न सक्छ। अनुसन्धान प्रक्रियामा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग आवश्यक छ,” उनले भने।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुशासन र जनताको अधिकारको सुनिश्चितता पहिलो शर्त रहेको उल्लेख गरे। उनले समाजमा व्याप्त बेथितिहरू हटाएर समृद्धि हासिल गर्ने सरकारको योजनामा कुनै सम्झौता नहुने बताए।
महान्यायाधिवक्ता रमेश बडालले डिजिटल प्रविधिमार्फत हुने अपराध, वित्तीय ठगी, साइबर हमलालगायतका घटनाहरू चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै सरकार त्यसको रोकथाम तथा नियन्त्रणका लागि गम्भीर रहेको बताए। सम्मेलनमा डिजिटल अपराध नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने विषयमा छलफल गरिएको थियो।