धनगढी – गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार धनगढीमा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेको छ। पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले धनगढीबाट सुरु भएको आन्दोलन चैतमा काठमाडौंमा निष्कर्षमा पुग्ने दाबी गरेका छन्।
राप्रपाले फागुन महिनाभर सातै प्रदेशमा मोटरसाइकल र्याली तथा जनसभाहरू सञ्चालन गर्ने र अन्ततः चैतमा काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने योजना अघि सारेको छ। धनगढीमा आयोजित विशाल मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले नेपाली जनताको बलमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको अन्त्य गर्ने उद्घोष गरे।
उनले वर्तमान राजनीतिक प्रणालीले देशलाई आर्थिक संकटमा धकेलेको, भ्रष्टाचारलाई संस्थागत गरेको र आम नागरिकलाई अन्योलमा पारिदिएको आरोप लगाए। ‘देश ऋणमा डुबेको छ, उद्योग-धन्दा बन्द हुँदै गएका छन्, लाखौं युवाहरू विदेशिन बाध्य भएका छन्। अब राजसंस्थासहितको प्रजातन्त्र फर्काउन सबै शक्ति एकजुट हुनुपर्छ,’ उनले भने।
मंगलबारको मोटरसाइकल र्याली अत्तरियादेखि धनगढीसम्म सञ्चालन गरिएको थियो, जसमा हजारौं समर्थकको उपस्थिति रहेको थियो। कोणसभामा परिणत र्यालीमा सहभागीहरूले राजसंस्थाको पुनःस्थापनाका लागि नाराबाजी गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहले हालै दिनुभएको सन्देशलाई स्मरण गर्दै राणाले अब मुलुकलाई संकटबाट जोगाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताए। ‘संघीयता र धर्म निरपेक्षता विदेशी शक्तिहरूको योजनाअनुसार थोपारिएको छ। यो नेपाली जनताको चाहना होइन,’ उनले जोड दिए।
सहकारी ठगी, भ्रष्टाचार र बेरोजगारीविरुद्ध राप्रपाले आवाज उठाइरहेको उल्लेख गर्दै महामन्त्री राणाले दोषी नेताहरूलाई कारबाही गर्नुपर्ने माग गरे। ‘लाखौं जनता सहकारी ठगीको मारमा छन्, उद्योगहरू बन्द छन्, युवाहरू रोजगारी खोज्दै विदेश जान विवश छन्। हामी यो बेथितिलाई अन्त्य गर्न चाहन्छौं,’ उनले थपे।
राप्रपाले चैतमा हुने आन्दोलन निर्णायक हुने बताउँदै शान्तिपूर्ण तर सशक्त दबाब सिर्जना गर्ने जनाएको छ।
