धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोधमा धनगढीमा व्यापक शक्ति प्रदर्शन गरेको छ। पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले धनगढीबाट सुरु भएको आन्दोलनको निष्कर्ष चैतमा काठमाडौंमा देखिने दाबी गरेका छन्।
राप्रपाले फागुन महिनाभर सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्याली तथा जनसभाहरू आयोजना गर्ने र अन्ततः चैतमा काठमाडौंमा केन्द्रित निर्णायक आन्दोलन गर्ने योजना सार्वजनिक गरेको छ। मंगलबार धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले शान्तिपूर्ण तर सशक्त आन्दोलनमार्फत गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको अन्त्य गर्ने घोषणा गरे।
उनले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु अधिराज्य स्थापनाका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताए। ‘गणतन्त्र र संघीयताले देशलाई आर्थिक संकटमा धकेलेको छ। भ्रष्टाचार बढाएको छ। विदेशी निर्भरता बढ्दै गएको छ। यसलाई रोक्न हामी सबै जागरुक हुनुपर्छ,’ उनले भने।
अत्तरियादेखि धनगढीसम्म सञ्चालन गरिएको मोटरसाइकल र्याली कोणसभामा परिणत भएको थियो, जसमा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
राणाले संघीयता र धर्म निरपेक्षता बाह्य शक्तिहरूको योजनामा जबर्जस्ती लादिएको आरोप लगाउँदै नेपाली जनताले यस्ता व्यवस्था अस्वीकार गरिसकेको दाबी गरे। ‘यो विदेशी हस्तक्षेपको परिणाम हो। जनता यसलाई मन पराउँदैनन्, त्यसैले परिवर्तन आवश्यक छ,’ उनले जोड दिए।
राप्रपाले आन्दोलनलाई पूर्णतः शान्तिपूर्ण राख्ने प्रतिबद्धता जनाउँदै सेना र प्रहरीसँग कुनै पनि द्वन्द्व सिर्जना नगर्ने स्पष्ट पारेको छ। साथै, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्ने र सहकारी ठगीले प्रभावित लाखौं जनताको न्याय सुनिश्चित गर्नुपर्ने माग पनि उठाइएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई देश र राष्ट्रिय पहिचान जोगाउन अगाडि आउन आह्वान गरिसकेको सन्दर्भ उल्लेख गर्दै राणाले अब राजसंस्थाको पुनर्स्थापनाका लागि निर्णायक घडी आएको बताए।