+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अमेरिकाको आफ्नो नागरिकलाई चेतावनी : सकेसम्म लाहोर छोड्नु

जनवाच
७ घण्टा अगाडी

काठमाडौं— भारत–पाकिस्तानबीचको सैन्य तनाव उत्कर्षमा पुगेसँगै संभावित सुरक्षा संकटका कारण अमेरिकाले आफ्ना नागरिकलाई पाकिस्तान छोड्न कडा सुझाव दिएको छ। विशेष गरी लाहोर आसपासको हवाई क्षेत्रको असुरक्षा र संभावित सैन्य गतिविधिका कारण अमेरिकी महावाणिज्य दूतावासले सबै कन्सुलर सेवाहरु स्थगित गर्दै आपतकालीन सन्देश जारी गरेको हो।

अमेरिकी वाणिज्य दूतावासले लाहोरस्थित अमेरिकी कर्मचारीहरूलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। “ड्रोन विस्फोट र हवाई क्षेत्रमा रिपोर्ट भएका घुसपैठ प्रयासहरू” लाई कारण देखाउँदै अमेरिकाले आफ्ना नागरिकहरूलाई सकेसम्म पाकिस्तान विशेषगरी लाहोर क्षेत्र छाड्न वा सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेको छ।

सुरक्षा स्रोतका अनुसार भारतले मे ७ तारिखको रात ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको थियो, जसको प्रतिउत्तरस्वरूप पाकिस्तानले बिहीबार श्रीनगर, जम्मू, अमृतसर, जालन्धर र लुधियानातर्फ ड्रोन तथा मिसाइल प्रहारको प्रयास गरेको थियो।

भारतले शुक्रबार बिहानै पाकिस्तानका वायु सुरक्षा प्रणालीमाथि कडा जवाफी कारबाही गरेको पुष्टि भएको छ। यसले गर्दा दुबै देशबीचको तनाव युद्धस्तरसम्म उक्लन सक्ने जोखिम बढेको छ।

यस घटनाक्रमसँगै पाकिस्तानमा रहेका अन्य पश्चिमी मुलुकका नागरिकहरू पनि उच्च सतर्क अवस्थामा छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले लाहोरको एयरपोर्ट आसपासका क्षेत्रहरू खाली गरिन सक्ने र थप कूटनीतिक मिशनहरू पनि अस्थायी रूपमा बन्द हुन सक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ