काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादी शक्तिहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्। पछिल्लो समय राजसंस्था पुनःस्थापनाका लागि चर्किएको आन्दोलनलाई प्रभावकारी बनाउन उनले साझा नेतृत्व आवश्यक रहेको बताएका हुन्।
थापाले पूर्व पञ्चायत प्रमुख नवराज सुवेदीको संयोजकत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरिएको जानकारी दिँदै, यही नेतृत्वमा गोलबन्द हुनुपर्ने धारणा राखे। उनका अनुसार, भ्रष्ट शासन प्रणालीविरुद्ध संघर्ष गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि साझा रणनीति आवश्यक छ।
“अनुकूल वातावरण बनिरहेको अवस्थामा अनावश्यक विवाद नगरौँ, सबै राजावादी शक्तिहरू एक ठाउँमा आउँदा मात्र आन्दोलन सफल हुनेछ,” थापाले भने।
गत साता भएको प्रदर्शनमा उल्लेखनीय जनसहभागिता देखिएपछि राजावादी समूहहरू आ-आफ्नै नेतृत्वमा आन्दोलन सञ्चालन गर्ने विषयमा छलफल गरिरहेका बेला थापाले एकीकृत रणनीतिमा जोड दिएका हुन्। उनका अनुसार, आन्दोलनलाई व्यवस्थित बनाउन र प्रभावकारी बनाउने उद्देश्यले सुवेदीको नेतृत्वमा सबै पक्ष समेट्ने प्रयास भइरहेको छ।