काठमाडौं, फागुन २० । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारद्वारा जारी विभिन्न अध्यादेशप्रति कडा आलोचना गरेका छन्।
मंगलबार कैलालीको टीकापुरमा आयोजना हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सामान्य अवस्थामा अध्यादेश ल्याउने कुरा लोकतान्त्रिक अभ्यास विपरीत रहेको बताए।
‘अध्यादेश ल्याउनु नै गलत’
सरकारले संसद अधिवेशन सुरु हुनु केही दिनअघि मात्रै विभिन्न अध्यादेश जारी गरेको थियो। माघ १८ गतेदेखि संघीय संसदको चालु अधिवेशन सुरु भएपनि, सरकारले ल्याएका ६ वटा अध्यादेश हालसम्म स्वीकृत भइसकेका छैनन्।
प्रचण्डले केही अध्यादेश स्वीकृत नहुने स्पष्ट संकेत दिंदै भने, ‘केही अध्यादेश त स्वीकृत हुनेवाला छैन। तथाकथित दुई तिहाइको अहंकार देखाउने सरकारले सदन आउँदै गर्दा अध्यादेश ल्याउनु नै गलत हो।’
भूमि सम्बन्धी अध्यादेश रोकिने, बाँकी अघि बढ्ने तयारी
सरकार अहिले भूमि सम्बन्धी अध्यादेशलाई अलग राखेर अन्य अध्यादेशलाई सदनमा अघि बढाउने पक्षमा रहेको छ। सत्तारूढ दलहरूले आगामी संसद बैठकमा भूमि सम्बन्धी अध्यादेश बाहेकका अन्य अध्यादेश स्वीकृत गराउने तयारी गरेका छन्।
गत माघ २ मा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी भएको थियो भने पुस १४ मा सहकारी ऐन संशोधन अध्यादेश ल्याइएको थियो। पुस २९ मा थप चारवटा अध्यादेश जारी भएका थिए, जसमा सुशासन प्रवर्द्धन, आर्थिक कार्यविधि, निजीकरण, व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी कानुनी संशोधनहरू समेटिएका छन्।