काठमाडौँ- रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद चुलिएपछि सोमबार क्याम्पसमा तोडफोड भयो, जसका कारण क्याम्पस प्रशासनले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ।
आगामी ५ चैतका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी भइरहेका बेला विभिन्न विद्यार्थी संगठनहरूबीच विवाद चर्कियो। विपक्षी विद्यार्थी संगठनहरूले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाउँदै क्याम्पस प्रशासनसँग विभिन्न माग राखेका थिए। तर, ती माग सम्बोधन नगरी प्रक्रिया अघि बढाइएपछि उनीहरू आन्दोलित भएका हुन्।
आइतबार निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका विद्यार्थी संगठनहरूले सोमबार क्याम्पसको हलमा तोडफोड गरे। प्रत्यक्षदर्शीहरूका अनुसार समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनको संयुक्त समूहले आक्रोशित हुँदै तोडफोड गरेको हो।
निर्वाचन प्रक्रिया अवरुद्ध, विद्यार्थी आन्दोलन चर्कियो
निर्वाचन तालिका अनुसार निर्वाचन आयोगले सोमबार विद्यार्थी संगठनहरूसँग छलफल गरिरहेको समयमा विवाद सुरु भयो। अनेरास्ववियुका कार्यकर्ताले बैठक कक्षमा प्रवेश गरी होहल्ला गरेपछि अन्य विद्यार्थी संगठनका सदस्यहरू आक्रोशित भई तोडफोडमा उत्रिएको समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अलीले बताए।
आन्दोलनकारी विद्यार्थीहरूले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन समेत गरेका छन्। विद्यार्थीहरू लामो समयदेखि प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आएका थिए, तर क्याम्पस प्रशासनले त्यसलाई बेवास्ता गरी सिधै निर्वाचन प्रक्रियामा गएको भन्दै उनीहरू असन्तुष्ट देखिएका छन्।
क्याम्पसमा भइरहेको विवादका कारण प्रशासनले स्ववियु निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ। निर्वाचन अधिकृत गणेशप्रसाद पाण्डेयद्वारा जारी विज्ञप्तिमा “क्याम्पसमा असहज परिस्थिति सिर्जना भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको” उल्लेख गरिएको छ।