+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

जनताको निराशा चिर्न सरकार परिणाममुखी बन्नुपर्छ : गगन थापा

जनताको निराशा चिर्न सरकार परिणाममुखी बन्नुपर्ने र नीति कार्यान्वयनमा तीव्रता दिनुपर्ने आवाज यस बहसमा उठाइएको थियो।

जनवाच
१ महिना अगाडी

काठमाडौं, १६ फागुन । पछिल्लो समय जनतामा निराशा बढिरहेको विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको अकर्मण्यता मुख्य कारण रहेको बताएका छन्।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल अन्तर्गत शुक्रबार आयोजित ‘निराशा : व्याख्या र वास्तविकता’ सत्रमा बोल्दै थापाले दुईतिहाइ नजिकको सरकार भएर पनि ठोस नतिजा दिन नसक्दा जनतामा निराशा छाएको बताए।

थापाले सरकारले परिणाममुखी काम गर्न नसकेको र जनअपेक्षाअनुसार गति नलिएको आरोप लगाए। “जनताले सरकारबाट परिणाम चाहन्छन्, तर सरकार भने केवल अंकगणितीय बलमा ढुक्क देखिन्छ,” उनले भने, “तर, सरकारसँग काम गर्ने हतारो (सेन्स अफ अर्जेन्सी) देखिँदैन।”

उनले सरकारलाई प्रश्न गर्दा आफू त्यसबाट अलग हुन नसक्ने बताए। “म सरकारमा प्रत्यक्ष संलग्न नभए पनि सरकारको कमजोरीको जिम्मेवारी लिन्छु,” उनले थपे।

प्रदेश सरकारप्रति बढ्दो निराशाबारे उठेका प्रश्नमा थापाले संघीयता बलियो बनाउन नसक्दा समस्या उत्पन्न भएको बताए। “हामीले संघर्ष गरेर ल्याएको संघीयताको सशक्तीकरण हुन सकेन,” उनले भने, “केन्द्रले अझै अधिकार हस्तान्तरण गरेको छैन, जसले प्रदेश सरकारलाई असफल बनाउने प्रयास भइरहेको देखिन्छ।”

टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक स्वस्तिका श्रेष्ठले निराशासँगै समाजमा आशाको किरण पनि रहेको बताइन्। “निराशा मात्रै होइन, आशा पनि छ,” उनले भनिन्, “समुदायमा काम गर्ने क्रममा सकारात्मक परिवर्तन देखिन्छ।”

सोसल साइन्स बहाःका सहनिर्देशक जीवन बानियाँले नेपाल मात्र निराशामा डुबेको देश नभएको बताए। “राजनीतिक अस्थिरता, बेरोजगारीलगायतका कारणले नेपालमा निराशा छाए पनि यो समस्या विश्वव्यापी हो,” उनले उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ