१५ फागुन, २०८१ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजवाद कुनै एकल दल वा दर्शनको शासन प्रणाली नभई लोककल्याणकारी राज्य व्यवस्थाको आधारशिला भएको स्पष्ट पार्नुभएको छ।
सगरमाथा प्रतिष्ठान नेपालले मनाएको २४औं वार्षिकोत्सवमा बिहीबार पर्यटन बोर्डको सभाहलमा बोल्दै मन्त्री दाहालले समाजवादको गलत व्याख्या नगरिनु पर्ने बताए । उनले संविधानले परिकल्पना गरेको समाजवादको मार्गदर्शनलाई सही ढंगले बुझ्न आग्रह गर्दै भने, “समाजवाद भनेको कुनै एउटा राजनीतिक दल वा दर्शनको अधिपत्य होइन, यो समग्र राष्ट्रको समृद्धिका लागि लोककल्याणकारी व्यवस्था हो।”
मन्त्री दाहालले समाज निर्माणका लागि सकारात्मक सोच र सुसंस्कारको प्रसार जरुरी रहेको औंल्याउँदै युवापुस्तामा नैतिकता, इमान्दारिता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, संगीत, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष नरबहादुर लिम्बूले आफन्तविहीन बालबालिकाको संरक्षण र शिक्षामा संस्थाले पुर्याउँदै आएको योगदानबारे जानकारी गराए ।
सोही अवसरमा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी, पूर्व प्रशासक शंकरप्रसाद कोईराला, पर्यटन उद्यमी कर्ण शाक्य लगायतले सकारात्मक समाज निर्माणका लागि शिक्षाको भूमिकाबारे विचार राखेका थिए।
कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए । उद्घाटनपछि उपराष्ट्रपति समारोहबाट बाहिरिका थिए ।