काठमाडौं, फागुन १२ – नेपाल र चीनबीचको पर्यटन सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चीनका जातीय मामिलामन्त्री पेन यूबीच महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
पर्यटनमन्त्री पाण्डेले नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्री पेन यू नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै चीनबाट अझ धेरै पर्यटक नेपाल भित्र्याउने योजनाबारे छलफल गरे। उनले नेपाल-चीन सम्बन्ध सन् १९५५ मा स्थापना भएको र ७० औँ वार्षिकोत्सव नजिकिँदै गर्दा पर्यटन क्षेत्रमा दुवै देशले सहकार्यलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिए।
नेपाल र चीनबीचको पर्यटन सहकार्य विस्तार गर्न चीन सरकारले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ को रूपमा मनाउने घोषणा गरेको छ। मन्त्री पाण्डेले उक्त निर्णयप्रति खुशी व्यक्त गर्दै यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपाल एक-चीन नीतिप्रति प्रतिबद्ध रहेको पुनः दोहोर्याउँदै चिनियाँ पर्यटकहरूको संख्यामा वृद्धि गराउने लक्ष्य लिइएको जानकारी दिए। साथै, नेपाल एयरलाइन्सले ग्वाङझाओ-नेपाल सिधा उडानका लागि पहल गरिरहेको र हिमालय एयरलाइन्सले पोखरा-ल्हासा उडान सञ्चालन गर्ने तयारी गरिरहेको उल्लेख गरे।
चिनियाँ मन्त्री पेन यूले दुई देशका राष्ट्राध्यक्षहरूबीच भएका सम्झौताहरू कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए। उनले चीनमा १० करोडभन्दा बढी मानिस बुद्ध धर्म अनुयायी रहेको उल्लेख गर्दै, नेपाललाई बुद्ध धर्मको सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए।
उनले नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्न नेपाल-चीन सहकार्यका कार्यक्रम सञ्चालन गर्ने इच्छा व्यक्त गरे। साथै, आफ्नो मन्त्रालय अन्तर्गत रहेका ३० विश्वविद्यालयमध्ये एकलाई नेपालमा अध्ययन तथा सांस्कृतिक कार्यक्रमका लागि पठाउने प्रतिबद्धता जनाए।