+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

राष्ट्रिय गौरवका रंगशाला निर्माणमा ढिलाइ: स्रोत सुनिश्चितताको अन्योलले खेलकुद पूर्वाधार अलपत्र

जनवाच
१ महिना अगाडी

काठमाडौं – नेपाली खेलकुद पूर्वाधारको अभावबारे वर्षौंदेखि बहस चलिरहेको छ। सरकारद्वारा ‘राष्ट्रिय गौरव’ का रूपमा घोषणा गरिएका दुई ठूला क्रिकेट रंगशाला – काठमाडौंको मुलपानी रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला – आवश्यक स्रोत सुनिश्चित नहुँदा निर्माण प्रक्रियामा अन्योलमा परेका छन्।

सरकारले यी रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरे पनि स्रोत व्यवस्थापन प्रक्रियामा भएको ढिलाइले निर्माण अलपत्र परेको हो। खेलकुद मन्त्रालय र सम्बन्धित निकायहरूबीच समन्वयको अभावले महत्वपूर्ण परियोजनाहरू अन्योलग्रस्त बन्दै गएका छन्।

राष्ट्रिय योजना आयोगले बहुबर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०८१ अनुसार आवश्यक कागजात अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने थियो। तर खेलकुद मन्त्रालयले मंसिर मसान्तसम्म वातावरणीय अध्ययन प्रतिवेदन (EIA/IEE) पेस गर्न नसक्दा परियोजनाले सरकारी स्वीकृति पाउन सकेको छैन।

वन मन्त्रालयबाट प्रतिवेदन पारित भइसकेको भए पनि, अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्ने प्रक्रियालाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउन चासो देखाएको छैन। खेलकुद मन्त्रालयकै अधिकारीहरूका अनुसार, मन्त्रालयले यी परियोजनाहरूमा खासै सक्रियता नदेखाएको कारण अन्योल बढ्दै गएको छ।

सरकारले गत वर्षको बजेट वक्तव्यमा मुलपानी रंगशाला र गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेको थियो। तर बजेट घोषणापछि आवश्यक कार्यान्वयन प्रक्रियामा अपेक्षित चाँसो नदेखाइनु सरकारकै असफलता दर्शाउँछ।

राष्ट्रिय योजना आयोगले १९ राष्ट्रिय गौरव आयोजनाहरूको स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिसकेको छ। तर, मुलपानी र विराटनगरका क्रिकेट रंगशालाहरू भने अन्य ११ आयोजनासँगै कागजात पेस गर्न नसकेको कारण अन्योलमै छन्।

खेलकुद मन्त्रालयको भूमिका शून्य

खेलकुद मन्त्रालय अन्तर्गतकै त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालासमेत निर्माणमा चुनौती खेपिरहेको अवस्थामा मुलपानी र विराटनगरका रंगशालाहरूको निर्माण प्रक्रियामा मन्त्रालयको भूमिका झन् कमजोर देखिएको छ। मन्त्रालयकै एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “हाम्रो मातहतकै टियु क्रिकेट रंगशाला बनाउन सक्ने स्थिति छैन, मुलपानी र विराटनगरको कुरा झन् टाढाको विषय हो।”

सरकारले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको दाबी गरे पनि ठोस कार्यान्वयनको अभाव देखिएको छ। यदि मन्त्रालयहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह नगर्ने हो भने यी रंगशालाहरू अझै लामो समयसम्म अधुरै रहनेछन्।

खेलकुद पूर्वाधार नेपालको खेल क्षेत्रको मात्र होइन, समग्र युवा विकास र अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा देशको पहिचान स्थापित गर्ने माध्यम पनि हो। सरकारले राष्ट्रिय गौरव आयोजनाहरूलाई केवल घोषणाको रूपमा सीमित नराखी, स्रोत सुनिश्चित गरी तत्काल निर्माण कार्य अघि बढाउन आवश्यक छ।

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट गन्तव्य बनाउने सपना पूरा गर्ने हो भने, मुलपानी र विराटनगर रंगशालाको निर्माणमा अवरोध हटाउने निर्णय तत्काल गर्नुपर्छ। अन्यथा, खेलकुद पूर्वाधार विकासमा सरकारको असफलताको अर्को उदाहरण बन्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ