काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको समृद्ध इतिहासको भूभाग भएको भन्दै, यसको कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुति महत्त्वपूर्ण भएको बताए। उनले आज बालुवाटारमा मदन भडारी कला–साहित्य प्रतिष्ठानको आयोजक समिति र सल्लाहकारसहितको परामर्श बैठकमा सम्बोधन गर्दै नेपालको मौलिक संस्कृति र यसको गौरवको विश्वव्यापीकरणमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले यस भूभागबाट ज्ञान, योग र दर्शनको आरम्भ भएको र त्रेतायुगदेखि औषधि विज्ञानसम्मको विकास भएको कुरा जोड दिए। त्यसैगरी, आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का बारेमा पनि उनले खुसी व्यक्त गरे।
सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डजस्ता देशका लगभग ५०० स्रष्टाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। यो सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट र समापन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ। सम्मेलनका दौरान विभिन्न सांस्कृतिक र साहित्यिक गतिविधिहरू हुनेछन्, जसमा हिमवतखण्ड क्षेत्रका कविहरूको काव्य उत्सव, सांस्कृतिक उत्सव, र फिल्म उत्सव पनि समावेश हुनेछ।
सम्मेलनमा नेपाली भाषाको अन्तर्राष्ट्रिय आयमाबारे सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको प्रमुख प्रस्तुतिको योजना पनि रहेको छ।
सम्मेलनको महत्त्वपूर्ण हिस्सा भनेको विभिन्न विद्वानहरूद्वारा गोष्ठीपत्र प्रस्तुति हुनेछ, जसमा नेपालका सातै प्रदेशका प्रतिनिधिहरू पनि भाग लिनेछन्।
सम्बोधन गर्ने प्रमुख व्यक्तिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईंला, गङ्गाप्रसाद उप्रेती, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, संस्कृतिविद् डा वीणा पौडेल लगायतका महत्वपूर्ण व्यक्तिहरू रहेका छन्।