जेनेभा- नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको विश्वमञ्चमा नेपालको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गर्दै, एलडीसी (अत्यन्त कम विकसित मुलुक) बाट उन्मुक्तिपछि व्यवसायमैत्री नीति, दीर्घकालीन लगानी, र सामाजिक न्याययुक्त श्रम संरचना आवश्यक रहेकोमा जोड दिएका छन्। ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको रोजगारी, अधिकार र समावेशी वृद्धिमा लगानीको भूमिकालाई केन्द्रमा राखेको २०२५ को आइएलओ प्रतिवेदनलाई समर्थन जनाउदै ढकालले निजी क्षेत्रलाई श्रम सृजनाको इन्जिन का रूपमा परिभाषित गरे। उनले भने, हामी सबैको भिन्न जिम्मेवारी छ तर साझा उद्देश्य एउटै हो, न्यायपूर्ण र सुरक्षित रोजगारी सुनिश्चित गर्ने वातावरण बनाउने। नेपालले पछिल्लो समय लगानीसम्बन्धी ३० भन्दा बढी कानुन संशोधन गर्दै औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्न उल्लेखनीय कदम चालेको जानकारी दिदै ढकालले नेपाललाई आइएलओको चार वैश्विक च्याम्पियन देश मध्ये एकको रूपमा मान्यता मिल्नु नैतिक र संस्थागत प्रतिबद्धताको फल भएको बताए। उनले भने, यसले हामीमा उत्तरदायिता, सुधार र अन्तर्राष्ट्रिय श्रम मापदण्डप्रतिको प्रतिबद्धता देखाउछ। ढकालले नेपाललाई भारत र चीनको बीचको ‘स्ट्र्याटेजिक पुल’ का रूपमा चित्रण गर्दै, जलविद्युत, कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रमा उल्लेखनीय लगानी अवसर रहेको बताए। एलडीसीबाट स्तरोन्नति भए पनि नेपालले चीन र भारतसँगको शून्य भन्सार सुविधा, युरोप र अमेरिका सँगको व्यापार सुविधा कायमै राख्नेछ, उनले बताए। ढकालले नेपालजस्तो मुलुकले विश्वको हरितगृह ग्यास उत्सर्जनमा न्यूनतम योगदान दिदा पनि जलवायु परिवर्तनको असर धेरै भोगिरहेको उल्लेख गर्दै पर्वतीय र साना टापु राष्ट्रहरूलाई विशेष बजार पहुँच र वित्तीय सहयोग प्रदान गर्न आग्रह गरे। विश्वको छानो जोगाउन हामीसग पर्याप्त स्रोत छैन, हामीलाई अन्तर्राष्ट्रिय सहकार्यको खाँचो छ,उनले भने। FNCCI ले वैदेशिक लगानीकर्तालाई सहजता दिन एफडीआई सहायता डेस्क स्थापना, श्रमिक संगठनहरूसँग सहकार्य सम्झौता, र निजी–सार्वजनिक संवाद सुदृढीकरणमा केन्द्रित पहलहरू थालेको जानकारी दिदै ढकालले न्यायपूर्ण श्रम अभ्यासमा निजी क्षेत्रको भूमिकालाई सशक्त पार्न लागिएको बताए।