+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि

लम्पी स्किन र अफ्रिकन स्वाइन फ्लु नियन्त्रणका लागि: तीन तहको समन्वयमा विशेषज्ञ टोली परिचालन

जनवाच
८ घण्टा अगाडी

काठमाडौं २६ जेठ- देशका विभिन्न भागमा लम्पी स्किन रोग र अफ्रिकन स्वाइन फ्लु देखिन थालेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोगको वास्तविक स्थिति बुझ्न र नियन्त्रणको उपाय अवलम्बन गर्न विशेष प्राविधिक टोली परिचालन गर्ने निर्णय गरेको छ।

मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले पशु सेवा विभाग अन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा रोग अन्वेषण टोली गठन गरी प्रभावित क्षेत्रमा तत्काल खटाउने निर्णय गरेको हो। टोलीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका विशेषज्ञहरू पनि सहभागी हुनेछन्।

रोगको अवस्थाबारे दैनिक र आवधिक रिपोर्टिङ गर्ने जिम्मेवारी पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहरालाई दिइएको छ। मन्त्रालयले उहाँलाई फोकल पर्सनका रूपमा तोकेको जनाएको छ।

वर्षा सुरु भएसँगै लामखुट्टे तथा अन्य किराफट्याङ्ग्राबाट सर्ने रोगको जोखिम बढ्ने भन्दै मन्त्रालयले खोप, औषधि र स्रोत साधनको विस्तृत लागत अनुमान तयार गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ। रोग नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहको संयुक्त सहभागिता सुनिश्चित गर्दै स्रोत परिचालनको खाका तयार पारिने भएको छ।

सञ्चार माध्यममा पशुहरूमा रोग फैलिएको सूचना आउनासाथ मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउँदै, रोगको यथार्थ स्थिति बुझ्न वैज्ञानिक अध्ययन अनिवार्य भएको स्पष्ट पारेको छ। मन्त्रालयको भनाइमा, रोग नियन्त्रणका लागि अब अनुभवसिद्ध प्राविधिक र समन्वित नीतिगत हस्तक्षेप आवश्यक छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ