३० जेठ, काठमाडौं – झण्डै दुई सातादेखि प्रतिनिधिसभा भिजिट भिसा प्रकरणकै कारण अवरुद्ध हुँदै आएको छ। जेठ १३ गतेदेखि सुरु भएको संसद अवरोध आज पनि कायमै छ। तर, आज दिउँसो १ बजे बोलाइएको बैठकबाट सहमतिको संकेत देखिन थालेको छ। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्र, रास्वपा लगायतका प्रतिपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका थिए। यद्यपि पछिल्लो चरणमा प्रतिपक्षी दलहरू आफ्नो माग केही लचिलो बनाउँदै गम्भीर छानबिन समिति गठन मा केन्द्रित भएका छन्। यता, सत्ता गठबन्धनभित्र रहेका नेपाली कांग्रेस र एमाले पनि अब छानबिन समिति बनाउन तयार देखिँदैछन्। तर, समितिको संरचना, कार्यादेश र प्रभावक्षेत्रबारे स्पष्ट सहमति भइनसकेकोले निर्णय अल्झिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै, “सहमतिको खाका नजिक पुगेको” बताएका थिए भने नेता माधव सापकोटाले सरकारको प्रस्ताव हेरेर अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन्। यदि सहमति जुट्यो भने आजको बैठकले संसदलाई नियमित गति दिने सम्भावना देखिएको छ। सहमति भएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा सुनाउनेछन्, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र खर्च अनुमानबारे प्रारम्भिक छलफल अघि बढाउने प्रस्ताव पेस गर्नेछन्, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्।